काठमाडौं । पछिल्लो समय सरकारीमातहतका केही अस्पतालमा टेण्डर प्रक्रियामार्फत लाइफ सेभिङ्ग ड्रग्सको सप्लाईमा सेटिङ्गसहितको आर्थिक अनियमितता हुने गरेको पाइएको छ ।
राजधानीस्थित ठूला अस्पताल सम्बद्ध उच्च स्रोतले सबै प्रकृतिका बिरामीको उपचार हुने अस्पतालमध्ये मूलतः आईसीयूमा भर्ना भएका बिरामीमाथि प्रयोग हुने लाइफ सेभिङ्ग ड्रग्स र सर्जिकल सामग्रीकोे सिफारिसमा सार्वजनिक खरिद नियमावलीअनुरुप घट्दो मूल्यमा गुणस्तरसहितको औषधि र सामग्री खरिद गर्नुपर्नेमा राम्रोभन्दा पनि जुन कम्पनी वा औषधि आयातकर्ताको तर्फबाट राम्रो कमिसन पाइन्छ त्यही कम्पनीको महंगो औषधिको सप्लाईलाई स्वीकृति दिने प्रवृत्ति मौलाएको जनाएको छ ।
संघीय राजधानीका ठूला अस्पतालले अस्पताल फार्मेसी प्रयोजनका लागि अस्पतालका वरिष्ठ निर्देशकको कमाण्डमा चिकित्सक र फार्मेसिस्टसहितको ड्रग थेरापिटिकल कमिटी अर्थात् डीटीसीको सिफारिसमा टेण्डर प्रक्रियामार्फत माग गर्ने लाइफ सेभिङ्ग ड्रग्स र सर्जिकल सामग्री माग गर्ने गर्दछ ।
यसरी माग वा सिफारिस भएका औषधिहरु औषधि आयातकर्ता, उत्पादकसँग मुलुकको प्रचलित सार्वजनिक खरिद नियमावलीअनुरुप वा औषधिका नियामक निकाय औषधि व्यवस्था विभागको समन्वयमा आयातकर्ता वा उत्पादकलाई उत्पादनको अनुमति सिफारिस दिने परिपाटी रहिआएको छ ।
तर ड्रग थेरापिटिकल कमिटीमार्फत सिफारिसमा राजपत्रमा प्रकाशित सार्वजनिक खरिद नियमावलीअनुरुप टेण्डर प्रक्रियामार्फत औषधि खरिदका लागि सूचना जारी भएको लामो समय व्यतित भइसक्दा पनि आयातकर्ता वा उत्पादकसँग नजराना सेटिङको प्रसंग समायोजनमा हुने गरेको चलखेलका कारण आईसीयूका बिरामीहरुले कम मूल्यमा गुणस्तरयुक्त औषधि पाउन नसकेको अस्पताल सम्बद्ध उच्चस्रोतको दाबी छ ।
त्यस्तै औषधि सप्लाईको लागि आह्वान गरिएको टेण्डर सूचना सार्वजनिक खरिद नियमावलीको मर्मअनुसार बढीमा दुईदेखि तीन साताको समयसीमाभित्र अस्पताल प्रशासनले सप्लाई प्रक्रियालाई पूर्णता पाइसक्नुपर्ने अवस्था रहे पनि औषधि अनुमति स्वीकृत सिफारिस गर्ने डीटीसी कमिटीको व्यक्तिगत आर्थिक स्वार्थ र सप्लाईकर्ताबीच हुने गरेको मोलमोलाइको सेटिङका कारण लामो समयसम्म खरिद प्रक्रियाले यो वा त्यो नाममा पूर्णता पाउन अलमल हुने गरेको बुझिएको छ ।
यसबीचमा राजधानीस्थित एकाध ठूला अस्पताल र मोफसलमा केही अस्पतालमा सार्वजनिक खरिद नियमावलीअन्तर्गत औषधि खरिदका लागि जारी सूचनाअन्तर्गत औषधि सप्लाईका लागि दर्ता भएको आवेदकको तर्फबाट घट्दो वा कम मूल्यमा गुणस्तरयुक्त लाइफ सेभिङ ड्रग्सको खरिद नगरी नियमावलीको धज्जी उदाउँदै अन्ततः सेटिङ प्रवृत्तिमा सरकारी मातहतका अस्पतालमा हुँदै गरेको महंगो मूल्यमा औषधि खरिद गर्ने परिपञ्चसहितको आर्थिक अनियमितताको सूक्ष्म निगरानीमा रहेका छौँ ।