नयाँ दिल्ली, फागुन २८
अन्तर्राष्ट्रिय कच्चा तेलको भाउ लगातार सस्तो बनिरहँदा भारतमा पेट्रोल र डिजेलको मूल्य पनि सस्तिँदै गएको छ । भारतीय मिडियाहरुका अनुसार मंगलबार लगातार छैठौँ दिन भारतमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएको हो । नवभारत टाइम्सका अनुसार छैठौँ दिन नयाँ दिल्लीमा पेट्रोल १.१५ भारु र डिजेल १.०२ भारुले सस्तो भएको छ । दिल्लीबाहेक अन्य सहरमा पनि पेट्रोलियम पदार्थको मूल्य कम हुँदै गएको छ । कम्तीमा प्रतिलिटर १ भारुले सस्तो भएको छ ।
मंगलबार दिल्ली, कोलकाता, मुम्बईमा पेट्रोल सस्तो भएको छ । नियमनकारी निकायले भाउ घटाइरहेको सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा भने मंगलबार सोमबार ह्वात्तै घटेको कच्चा तेलको मूल्य पुनः फर्किएको छ । ब्रेन्ट क्रुड ७.१९ प्रतिशतले बढेर ३६.८३ डलर, अमेरिकी लाइट क्रुड वेस्ट टेक्सास इन्टरमेडिएट ६.८४ प्रतिशतले बढेर ३३.२६ डलर प्रतिब्यारेल कारोबार भएको छ । यसअघि सोमबार ३१.२७ डलरसम्म कच्चा तेलको मूल्य गिरावट आएको थियो । इन्डियन आयल निगमको वेबसाइटअनुसार दिल्ली, कोलकाता, मुम्बई र चेन्नईमा क्रमशः पेट्रोल प्रतिलिटर ७०.२९, ७२.९८, ७५.९९ र ७३.०२ भारुमा झरेको छ । त्यस्तै डिजेलको भाउ पनि क्रमशः ६३.०१, ६५.३४, ६५.९७ र ६६.४८ भारु प्रतिलिटरमा पुगेको छ ।