काठमाडौं । रूपन्देहीका एक व्यापारीले पहिलो कम्पनीबाट ३३ करोड रुपैयाँभन्दा बढीको राजस्व छली गरी फरक–फरक कम्पनीबाट कारोबार गर्नेगरेको पाइएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार रूपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं. ३, स्थायी ठेगाना भई सोही नगरपालिकाको वडा नं. ६, गल्लामण्डीमा सञ्चालित सुमित एन्ड स्वयता ट्रेडर्सका प्रोप्राइटर पूनित बनियाँले राजस्व छली गरेको पाइएको हो । बानियाले आफ्नो नाममा दर्ता भएको फर्मको आय विवरण र सोबमोजिमको करयोग्य आयमा लाग्ने कर रकम समेत आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा नगरी अन्य विभिन्न फर्म प्रयोग गरी अवैध तवरले कारोबार गर्नेगरेको पाइएको विभागले जनाएको छ । उक्त फर्मले बुझाउनुपर्ने राजस्व नबुझाई अर्को फर्मबाट कारोबार गरेको देखिँदा उनले जानाजान गलत नियतले कारोबार लुकाउने उद्देश्य राखेको विभागको दाबी छ । सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने राजस्व समेत नबुझाई निरन्तर एकपछि अर्को फर्मबाट कारोबार गर्दै आइरहेको र उनले कर कार्यालयलाई समेत गुमराहमा राख्न नितान्त राजस्व छल्ने नियतले कार्य गरेको भन्दै विभागले उनीविरुद्ध राजस्व चुहावटको कसुरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार बानियाँले ३३ करोड तीन लाख ५० हजार आठ सय ९६ रुपैयाँबराबरको राजस्व छली गरेको पाइएकाले सोही रकमबमोजिम बिगो असुल गरी शतप्रतिशत जरिवाना र हँदैसम्मको कैद सजाय मागदाबी लिई अभियोग पत्र दायर गरिएको छ ।