काठमाडौं । नेपाल र चीनसँग सम्बन्धित रहेर विगत १० वर्षमा खिचिएका फोटो, पेन्टिङ, थांका, क्यालिग्राफी (अक्षर लेख्ने तरिका) प्रदर्शनी गरिएको छ । बबरमहलस्थित नेपाल कला परिषद्मा मंगलबार आयोजना गरिएको प्रदर्शनीमा नेपाल र चीनको कला संस्कृतिसँग सम्बन्धित विभिन्न फोटो, थांका, तैलचित्र, क्यालिग्राफी प्रर्दशनी गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटको आयोजना तथा साउथ एसिया नेटवर्क टिभी, सहयोगी नेपाल ओभरसिज चिनियाँ संघ, नेपाली चिनियाँ उद्यम संघको सहआयोजनामा प्रदर्शनी गरिएको हो । प्रदर्शनीको उद्घाटन समारोहमा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्षका निर्देशक प्रा बालमुकुन्द रेग्मी, प्राध्यापक शिवलाल भुसाल, कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लु गाओ, नेपाल ओभरसिज चिनियाँ संघका अध्यक्ष जिन छिनदोङ, नेपाली चिनियाँ उद्यम संघका महासचिव झु क्विङलगायतले यस्ता कार्यक्रमले द्विपक्षीय सांस्कृतिक आदानप्रदान र एक आपसमा सद्भाव निर्माण तथा थप सुदृढ गर्न टेवा पुग्ने बताए । साथै उनीहरुले नेपाल–चीन हिमाल र पानीले जोडिएका मित्रवत् छिमेकी राष्ट्र भएको र द्विपक्षीय सांस्कृतिक आदानप्रदानको लामो इतिहास भएको उल्लेख गर्दै यो कार्यक्रम आपसी मित्रता र सहयोग प्रवद्र्धन, इतिहास निर्माण गर्ने महत्वपूर्ण माध्यम भएकोमा जोड दिए ।