कोलम्बो, फागुन २८
श्रीलंकामा प्रचण्ड खडेरीका कारण करिब तीन लाख व्यक्तिको दैनिकी निकै कठिन बनेको राष्ट्रिय विपत् व्यवस्थापन केन्द्रले मंगलबार जानकारी गराएको छ । श्रीलंकाको मौसम विज्ञान महाशाखाले आगामी केही हप्तासम्म पानी पर्ने सम्भावना नदेखिएको बताएको छ । अधिकारीहरूले दिएको जानकारीमा यहाँको पश्चिमी प्रान्तका करिब ५३ हजार परिवारमा जारी खडेरीको प्रभाव परेको र यसका कारण यहाँ खाने पानीको समेत अभाव भएको उल्लेख छ । खडेरीको प्रभाव पश्चिमी प्रान्तबाहेक मध्य दक्षिणी क्षेत्रका उच्च पहाडी भेक कान्डी र रतनपुरा तथा उत्तरपश्चिमी पुट्टालम राज्यमा पनि परेको बताइएको छ । महाशाखाले आगामी केही हप्तासम्म श्रीलंकाका पश्चिमी, उत्तरपश्चिमी र दक्षिणी प्रान्तहरूका ११ जिल्लामा निकै सुख्खा तथा अत्यधिक गर्मी मौसम रहने जनाएको छ । श्रीलंकाका कतिपय स्थानमा आगामी केही दिनमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान महाशाखाले गरेको छ ।