कोलम्बा । विदेशमा रहेका श्रीलंकाली कामदारले पठाएको विप्रेषण सन् २०२२ को नोभेम्बरमा बढेर ३८ करोड ४४ लाख अमेरिकी डलर पुगेको छ । श्रीलंकाको केन्द्रीय बैंक (सीबीएसएल)ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ को नोभेम्बरमा श्रीलंकाका विदेशमा रहेका नागरिकले पठाएको विदेशी मुद्रा वृद्धि भएको पुष्टि गरेको छ ।
सन् २०२२ को पहिलो ११ महिनामा भित्रिएको कुल विप्रेषण ३३ खर्ब १३ अर्ब डलर रहेको छ । यो सन् २०२१ को सोही अवधिको तुलनामा ३५.९ प्रतिशतले कमी हो । मौद्रिक नीति र प्रणालीप्रतिको बढ्दो विश्वासका कारण पछिल्ला केही महिनामा विदेशी विप्रेषणमा निरन्तर वृद्धि भएको सीबीएसएलले जनाएको छ ।
श्रीलंकाको आधिकारिक सञ्चित सम्पत्ति १.८ अर्ब डलर रहेको छ । त्यसमध्ये १.७ अर्ब डलर सन् २०२२ को पहिलो ११ महिना अर्थात् (नोभेम्बरको अन्त्य) सम्ममा जम्मा भएको विदेशी मुद्रा सञ्चिति हो ।
एफडीआई ५२३ मिलियन अमेरिकी डलर
यसैबीच, श्रीलंकाले यस वर्षको पहिलो छ महिनामा ५२३ मिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त गरेको एक छ । श्रीलंकाका लगानी बोर्ड (बीओआई) का वरिष्ठ अधिकारी निरोसानीले यो सरकारले तोकेको वार्षिक लक्ष्यको ५२.३ प्रतिशत रहेको बताएकी छन् ।
निरोसानीले बीओआई अन्तर्गत एक हजार ५५० कम्पनी दर्ता भएकाले ५ लाखभन्दा बढी रोजगारी सृजना भएको समेत उल्लेख गरेकी छन् । श्रीलंकाले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न १५ वटा स्वतन्त्र व्यापार क्षेत्रहरू बनाएको छ र सरकारले देशलाई थप लगानीमैत्री बनाउन केही कानुनहरू पुनरावलोकन गर्न खोजिरहेको बताएकी छन् ।
उनका अनुसार सन् १९७८ देखि २०२२ को मध्यसम्ममा श्रीलंकाले २०.६ बिलियन अमेरिकी डलर एफडीआईको रूपमा प्राप्त गरेको छ ।