काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै संशोधन गरिनुले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको नेपाल उद्योग परिसंघले जनाएको छ ।
उद्योगी व्यवसायीको व्यापक विरोधपछि राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनलाई हालै संशोधन गरेको छ । उद्योगी व्यवसायीहरु हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा मार्गदर्शन दुई वर्ष पर सार्नुपर्ने आफूहरुको सुझाव आंशिकरुपमा भए पनि सम्बोधन भएको परिसंघको भनाइ छ ।
परिसंघले आइतबार एक विज्ञप्ति जारी गरी संशोधित मार्गदर्शनबाट यसअघि ५० लाखसम्म चालू पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पु-याउनुले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने जनाएको छ ।