दोलखा । दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर–३ मिर्गेमा रहेकोे ईश्वरभूमि बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुवास बस्नेत निर्वातिच भएका छन् । संस्थाको शनिबार सम्पन्न सातौँ वार्षिक साधारणसभाले पुनः बस्नेतको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति निर्विरोध चयन गरेको हो ।
वडाध्यक्ष कमल अधिकारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले आगामी चार वर्षको लागि नौ जनाको सञ्चालक समिति र तीन जनाको लेखासुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको जनाएको छ । सञ्चालक समितिको उपाध्यक्षमा दिल बहादुर खड्का, सचिवमा मेनुका गिरी, कोषाध्यक्षमा ढाल बहादुर बस्नेत निर्वाचित भएका छन् भने सदस्यहरूमा संगिता बस्नेत, बिन्दा कार्की, तारा नेपाली, ढाल बहादुर नेपाली, गोमा कार्की निर्वाचित भएका हुन् । त्यसैगरी रमिला कार्कीको संयोजकत्वमा तीन सदस्यीय लेखासुपरीवेक्षण समिति निर्विरोध चयन भएको छ ।
सात वर्षअघि स्थापना भएको यस संस्थाको कुल पुँजी ५९ लाख १० हजार तीन सय १७ रुपैयाँ पुगेको छ । त्यस्तै सेयर पुँजी तीन लाख ७९ हजार आठ सय रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक लाख २७ हजार दुई सय रुपैयाँ रहेको संस्थाका कोषाध्यक्ष ढाल बहादुर बस्नेतले जानकारी दिए । संस्थामा हाल तीन सय ५२ जना सदस्य आबद्ध रहेका छन् । संस्थाका अध्यक्ष सुबास बस्नेतको सभापतित्व तथा बैतेश्वर गाउँपालिका–३ का वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभामा ज्येष्ठ सदस्य, उत्कृष्ट सेयर खरिदकर्ता, असल ऋणी, नियमित बचतकर्ता र विद्यार्थीलाई सम्मान गरिएको थियो ।