काठमाडौं, फागुन २९
एनआईसी एसिया बैंक लिमिटेड र लुम्बिनी ग्रुप प्राइभेट लिमिटेडबीच रेमिट्यान्स सेवाका लागि सम्झौता भई विप्रेषण कारोबारसमेत सुरु भएको छ । सम्झौतापश्चात अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूले लिगल रेमिटबाट रकम पठाएर यस बैंकको एनआईसी एसिया रेमिटमार्फत तुरुन्त रकम भुक्तानी लिन सक्नेछन् । साथै, विप्रेषण रकम नेपालका जुनसुकै बैंकको खातामा समेत पठाउन सकिनेछ । लिगल रेमिटमार्फत अष्ट्रेलियामा रहेका नेपालीहरूले पठाएको विप्रेषण रकम नेपालमा रहेका उनीहरूका आफन्तहरू वा अन्य व्यक्तिहरूले यस बैंकको मुलुकभर छरिएर रहेका तीन सय १९ वटा शाखाहरू, एक सय सातवटा एक्स्टेन्सन काउन्टर, ५८ वटा शाखारहित बैंकिङ इकाइहरू तथा नौ हजारभन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत सरल र सुलभरूपमा भुक्तानी पाउन सक्नेछन् ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा करिब २१ लाख ग्राहकहरूका साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।