काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको २६औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट प्रतिसेयर चार प्रतिशतका दरले बोनस सेयर र प्रतिसेयर शून्य दशमलव २१ प्रतिशतका दरले नगद लाभांश गरी कुल चार दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बोनस सेयर वितरणपश्चात् वित्तीय संस्थाको चुक्ता पुँजी एक अर्ब आठ करोड रुपैयाँ पुगेको छ ।
साथै सभाले अबको चार वर्षको लागि संस्थापक समूहबाट डा. दीर्घमान गुरुङ, प्रतिक गुरुङ र दिवाकर पौडेललाई सञ्चालकमा सर्वसम्मत नियुक्त गरेको छ । सोही दिनसम्पन्न सञ्चालक समितिको बैठकले डा. दीर्घमान गुरुङलाई सर्वसम्मत संस्थाको अध्यक्ष पदमा नियुक्ति गरेको छ । त्यसैगरी आव २०७९/८० को लेखापरीक्षक नियुक्त गर्नुका साथै पोखरा फाइनान्स लिमिटेड र अन्य उपयुक्त बैंक, वित्तीय संस्थाहरू एक आपसमा गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने विषयमा आवश्यक सहमति र सम्झौता गर्नलगायत प्रचलित नियम, कानुनअनुसार वित्तीय संस्थाको तर्फबाट गर्ने सम्पूर्ण कार्य गर्न समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले जानकारी दिएका छन् ।
पोखरा फाइनान्स लिमिटेडले आधुनिक प्रविधियुक्त बैंकिङ सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रूपमा चुस्त, दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको पनि वित्तीय संस्थाले जनाएको छ ।