लन्डन, फागुन २९
बेलायतका स्वास्थ्य मन्त्री नदिन डोरिजलाई कोरोना भाइरसको संक्रमण भएको छ । सिन्ह्वाका अनुसार बिरामी स्वास्थ्य हेर्ने कनिष्ठ स्वास्थ्यमन्त्री डोरिज अहिले घरभित्रै अलग्गै बसिरहेको अधिकारीले जनाएका छन् । उनलाई के कसरी कोरोना भाइरसको संक्रमण भयो भन्ने बारेमा स्पष्ट हुन नसकेको र अनुसन्धान भइरहेको अधिकारीको भनाइ छ ।
बेलायतमा अहिलेसम्म तीन सय ८२ जनामा संक्रमण भएको र छ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलियामा भने संक्रमितको संख्या एक सय १२ पुगेको छ । स्वास्थ्य विभागले बुधबारसम्म थप १२ जना थपिएर संक्रमितको संख्या एक सय १२ पुगेको बताएको छ । मृत्यु हुनेको संख्या भने तीन मात्रै रहेको पनि विभागले उल्लेख गरेको छ । यसैबीच अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि एक दशमलव ५५ अर्ब अमेरिकी डलर रकम छुट्याइएको घोषणा गरेका छन् ।
उनले सरोकारवालासँग छलफल गरेर कोरोना नियन्त्रण र उपचारका लागि विभिन्न प्याकेज तयार पारिएको पनि जानकारी दिए । यसैगरी दक्षिण कोरियामा थप दुई सय ४२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना भाइरसबाट संक्रमितको संख्या सात हजार सात सय ७५ पुगेको छ । त्यसैगरी थप छ जनाको मृत्यु भएको छ भने कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६१ पुगेको छ । स्वास्थ्य अधिकारीका अनुसार कोरोना भाइरसबाट संक्रमितमध्ये ४१ जना निको भएर घर फर्किएका छन् ।
जापानमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या थप बढेको छ । जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले दिएको विवरणका अनुसार संक्रमितको संख्या बढेर पाँच सय ६८ पुगेको छ । उनीहरुले कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको जनाइएका छन् । कोरोनाको सुरुवात भएको देश मानिने चीनमा भने अहिले नयाँ बिरामी थपिनेक्रम घटेको छ । केही दिनअगाडिसम्म दैनिक सयौं बिरामी थपिने गरेकोमा बुधबार थप २४ जना नयाँ बिरामी भेटिएका छन् । त्यसैगरी थप २२ जनाको मृत्यु भएको जनाइएको छ । उता अमेरिकामा संक्रमितको संख्या एक हजार नाघेको छ ।
स्वास्थ्य अधिकारीका अनुसार कुल संक्रमित सङख्या एक हजार एक पुगेको हो भने मृत्युहुनेको संख्या २८ पुगेको छ । उनीहरुले वासिङट्नमा दुई सय ६०, न्यूयोर्कमा एक सय ७३, क्यालिफोर्नियामा एक सय ४४ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको जनाएको छन् ।