काठमाडौं । सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि चुस्त नियमन तथा प्रभावकारी अनुगमन आवश्यक रहेको नेपाल उद्योग परिसंघले जनाएको छ । करिब ८० प्रतिशत पर्यटक हवाई मार्गबाट यात्रा गर्ने र देशभित्रका सुन्दर तथा दुर्गम गन्तव्यहरूसम्मको यात्रा पनि अधिकांशरूपमा हवाई माध्यमबाटै हुनेगरेको सन्दर्भमा सुरक्षित, भरपर्दो र विश्वसनीय हवाई सेवाको सुनिश्चितता आजको प्रमुख आवश्यक्ता रहेको परिसंघको भनाइ छ ।
यती एयरलाइन्सको एटीआर जहाजको गत माघ १ गते पोखरामा भएको दुर्घटनाले कोभिडकालपछि बल्लतल्ल पुनरागमन हुन थालेको नेपाली पर्यटन तथा उड्डयन क्षेत्रमा असर पु¥याउन सक्ने परिसंघले उल्लेख गरेको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गरी विगतमा पनि नेपालमा भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई दुर्घटनापछि त्यसको नकारात्मक असर पर्यटन उद्योगमा देखिएको जनाएको छ । यस्ता दुर्घटनाहरूले देशको दिगो समृद्धिका लागि बलियो आधारका रूपमा स्थापित हुँदै गरेको पर्यटन क्षेत्रलाई सुस्त बनाउने जोखिम रहेको परिसंघको भनाइ छ । यस्तै पोखरामा भएको हवाई दुर्घटनाले स्तब्ध तुल्याएको परिसंघले जनाएको छ । ‘उक्त दुर्घटनाबाट ज्यान गुमाएका सम्पूर्ण स्वदेशी तथा विदेशी यात्रुहरूका साथै चालकदलका सदस्यहरूप्रति परिसंघ परिवार भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै, मृतकका परिवारजनहरूलाई यस अपूर्व चोटको घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि हामी प्रार्थना गर्दछौँ’, परिसंघले भनेको छ । यो हवाई दुर्घटनाबाट पुगेको जनधनको क्षति अपुरणीय रहेको परिसंघले उल्लेख गरेको छ ।
यस्तै तत्कालका लागि दुर्घटनाको अध्ययन गर्न गठित छानबिन तथा जाँच आयोगले वस्तुनिष्ठ, वैज्ञानिक, पारदर्शी र निष्पक्ष अध्ययन गरेर सोको प्रतिवेदन शीघ्र तयार पारी तथ्य सार्वजनिक गर्दै सरकारले नेपालको हवाई सुरक्षातर्फ आफू सजग र गम्भीर रहेको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा प्रवाह गर्नुपर्नेमा परिसंघले जोड दिएको छ । यसको थप विश्वसनीयताका लागि दुर्घटनाको छानबिनमा अन्तर्राष्ट्रिय विज्ञहरूको संलग्नता हुँदा राम्रो हुने परिसंघको सुझाव छ । सङ्कटका बेला समन्वय र सञ्चार अत्यन्तै महत्वपूर्ण रहने हुँदा राज्यको निकायबाट निजी क्षेत्रको लगानी संरक्षण हुने र गन्तव्यको छवी जोगिने गरी आवश्यक कदमहरू चालिनुपर्ने परिसंघको भनाइ छ । यसैगरी चुस्त नियमन तथा प्रभावकारी अनुगमनलगायतका आवश्यक उपायहरूको अवलम्बनसहित सुरक्षित हवाई सेवाको प्रत्याभूतिका लागि आवश्यक ठोस कार्य गर्न पनि परिसंघको पर्यटन समितिले सरकारलाई आग्रह गरेको छ ।