काठमाडौं, नेपाल राष्ट्र बैंकले माघ ९ गते अर्थात् आज सोमबार पुनः १० अर्ब ६० करोड रुपैयाँबराबरको ट्रेजरी बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज अपराह्न २ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । यसअघि यही माघ २ गते पनि राष्ट्र बैंकले पाँच अर्ब २० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । राष्ट्र बैंकका अनुसार जारी मिति माघ १० गते मंगलबार तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने उक्त ट्रेजरीहरु क्रमशः ९१ दिने अवधिको तीन अर्ब १० करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैयाँ बराबरको रहेको छ । जसमध्ये ९१ दिनेको २०८० वैशाख १२ गते र तीन सय ६४ दिने अवधिको २०८० माघ ९ गते परिपक्व हुने अवधि तोकिएको छ । राष्ट्र बैंकका अनुसार आज बिक्री हुुने यी ट्रेजरीमा सात अर्ब रुपैयाँबराबरको नयाँ रहेको छ भने बाँकी पुरानो नवीकरणअन्तर्गतको छ ।