जनकपुरधाम, फागुन ३०
औषधि व्यवसायी संघ धनुषाले संघका महासचिव प्रमोद अग्रवाललाई कुटपिट गर्नेलाई १० दिनभित्र प्रहरीले पक्राउ नगरे जिल्लाको सम्पूर्ण औषधि पसल बन्द गर्ने चेतावनी दिएको छ । बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले गत फागुन २६ गतेका दिन महासचिवलाई कुटपिट गर्ने जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ निवासी रूफटप होटलका सञ्चालक धर्मेन्द्र साहलाई चैत ९ गतेसम्म पक्राउ गरी कानुनी दायरमा ल्याउन अल्टिमेटम दिइएको हो ।
संघका महासचिव तेजनारायण चौधरीद्वारा जारी सो विज्ञप्तिमा अल्टिमेटम अवधिभित्र दोषी साहलाई कानुनी दायरामा नल्याए बाध्य भएर जिल्लाका सम्पूर्ण औषधि पसल बन्द गरी आन्दोलनमा जाने चेतावनी दिइएको छ । अग्रवालले गुठी संस्थानसँग भाडामा जग्गा लिएर औषधि पसल सञ्चालन गर्दै जग्गाबाट केही जग्गा साहले जबर्जस्ती धाकधम्की देखाएर कब्जा गर्न खोज्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराइएको उजुरीमा भनिएको छ । उजुरी परेलगतै धनुषा प्रहरीले साहको खोजी व्यापकरूपमा गर्दै आएको छ । प्रहरीका अनुसार हाल साह फरार रहेको कारण पक्राउ पर्न सकेको छैन ।
पछिल्लो पटक समाचार संकलनको क्रममा जनकपुरधाम उपमहानरपालिकाका पत्रकारहरूलाई कुटपिट घटनामा संलग्न रहेको आरोपमा २ दिन थुनामा राखी प्रजिअले धरौटीमा रिहा गरेको थियो । यसअघि पनि जनकपुरधामस्थित अक्षर विद्या मन्दिरका सञ्चालक पङ्कज जालानलाई समेत कुटपिट गरेका थिए ।