काठमाडौं । काठमाडौंको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६६औँ वार्षिकोत्सवको अवसरमा संस्थापक कम्पान्डर बद्रीमान मालीको सालिक अनावरण गरेको छ ।
क्षत्रपाटी निःशुल्क चिकित्सालय हाताभित्र निर्माण गरिएको उक्त अस्पतालका संस्थापक बद्रीमान मालीका सालिकको काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ नं वडा अध्यक्ष नविन मानन्धरले अनावरण गरेका छन् । चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा अस्पतालमा लामो समयदेखि सेवागत कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरियो ।
क्षत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको कुल पुँजीबाट सुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो । तत्कालीन सञ्चार, यातायात तथा नहर मन्त्री गणेश मान सिंहले २०१६ साल माघ २३ गते श्रीपञ्चमीका दिनमा भवन शिलान्यास गरेर औपचारिकरूपमा शुभारम्भ गरेका थिए । आज श्रीपञ्चमीकै अवसर पारेर अस्पतालले ६६औँ वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रवक्ता तथा १७ वडाका अध्यक्ष नविन मानन्धरले सहरी क्षेत्रका जनताको स्वास्थ्य उपचारमा क्षत्रपाटी निःशुल्क चिकित्सालयले उल्लेख्य भूमिका निर्वाह गरेको चर्चा गरे ।
चिकित्सालयको कार्यसमितिको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई प्रमुख अतिथि बनाउने निर्णय गरेर मेयरसंग समन्वय गरी समय मिलाउने जिम्मा कार्यसमितिको सदस्य सुचेनमान मालीलाई दिएको थियो ।
मालीले चिकित्सालयको कार्यसमितिको सदस्य समेत रहेका महानगरपालिकाका प्रवक्ता नविन मानन्धरसंग समन्वय गर्नुको साटो १६ वडाको वडा अध्यक्ष मुकुन्द रिजाललाई लिएर मेयर साह समक्ष पुगेका थिए । तर विहिवारको कार्यक्रममा मेयर साह र उनलाई समन्वय गर्न चिकित्सालयबाट तोकियका सदस्य दुबैजना अनायास अनुपस्थित रहदा कार्यक्रमका सहभागी सबैलाई खल्लो महसूस भएको थियो ।