काठमाडौं, फागुन ३०
एनसेल प्राइभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टी कार्यक्रमअन्तर्गत ग्राहकहरुले औधी मन पराएको ‘कल आयो पैसा पायो’ अफर यो वर्ष पनि अझ बढी बोनसका साथ ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब विश्वका जुनसुकै देशबाट आएको अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा सोभन्दा बढी कुरा गर्दा प्रत्येक मिनेटको २ रुपैयाँ बोनसस्वरुप प्राप्त गर्दछन् ।
यो अफर बुधबारबाट लागू भएको र आगामी तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेटपछि हरेक मिनेट ११ मिनेटसम्म २ रुपैयाँको दरले बोनस पाउँछन् । यसको अर्थ अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँ सम्म बोनस प्राप्त गर्ने एनसेलले जनाएको छ । कम्पनीका अनुसार यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्छन् ।
एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरी यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् । त्यसैगरी, ग्राहकले अंगे्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुनसक्ने एनसेलले जनाएको छ । बोनसका साथै, अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गरी यस योजनाको मापदण्ड पूरा गरेका ग्राहकले प्रत्येक हप्ता सामसुङ्ग ग्यालेक्सी एट्वान्टी स्मार्टफोन पनि जित्न सक्नेछन् । यो योजना अवधिभर प्रत्येक हप्ता १० जना ग्राहकले १/१ थान स्मार्टफोन पाउनेछन् । एक हप्ताको समयावधिमा ग्राहकले पाएको बोनस, कुल अन्तर्राष्ट्रिय आगमन कल र औसत कलको समय अनुसार विजेताको छनोट गरिने एनसेलले जनाएको छ ।
आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाई विदेशमा रहेका र उनीहरुसँग सम्पर्कमा रहिरहनु पर्ने ग्राहकका लागि थप लाभ सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो योजनाअन्तर्गत प्राप्त हुने बोनसले ग्राहकलाई विदेशमा रहेका साथीभाइ तथा परिवारका सदस्यसँग सम्पर्कमा रहँदै, एनसेलको नेटवर्कमा रहेका अन्य आफन्तजन तथा साथीभाइसँग थप सम्पर्कमा रहन मद्दत गर्ने विश्वास लिएको एनसेलले जनाएको छ ।