नवरपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले सञ्चालन गरेको दुईदिने ऋण तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
तालिम समापन कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुुर जिसीले सहकारीका सञ्चालकहरूले सहकारीमा रहेको पैसा सदस्यहरूको हो भन्ने बुझ्न सकेमा सहकारीमा आउने समस्या कम हुने बताएका छन् ।
सहकारीमा सदस्यहरूको सेयर तथा वचत रकम हुन्छ, सदस्यहरूले गरेको वचत कतिपय सहकारीका सञ्चालकहरूले मनोमानी तरिकाले परिचालन गरेका कारण सहकारीमा समस्या आएको छ, जिसीले भने, ‘सहकारीमा भएको पैसा सदस्यहरूको हो, उनीहरूले मागेका वखत फिर्ता गर्नुपर्छ भन्ने कुरा सबै सञ्चालकहरूले बुझ्ने हो भने सहकारीमा समस्या आउँदैन ।’
यतिबेला सहकारीहरूलाई जोगाउनुपर्ने अवस्था आएको चर्चा गर्दै उनले सहकारीको साख जोगाउनका लागि सबैभन्दा महत्वपूर्ण कुरा सुशासन कायम गर्नुपर्ने उनको भनाइ थियो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ नवलपुरका अध्यक्ष होमनाथ जैसी, पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनाल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष नवलपुरका सदस्य सचिव प्रितम भुजेल, तालिमका सहजकर्ता बैंकका सहायक अधिकृत राजकुमार बरालले सहकारी व्यवसायमार्फत समाज रूपान्तरणका लागि यसले सञ्चालन गर्ने व्यवसायलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा तालिमका सहभागीहरू कालीगण्डकी साकोसका कोषाध्यक्ष रेशमलाल चापागाई र नवप्रतिभा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक दुर्गालक्ष्मी काफ्ले पाठकले तालिमबाट ऋणको जोखिम कम गर्नका लागि धेरै महत्वपूर्ण कुराको जानकारी भएको र संस्थामा गएर सिकेको कुरा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
तालिम समापन कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड नवलपुरका सचिव श्याम सुन्दर लामिछानेको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंक कावासोती शाखाका प्रमुख रुक्मत श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । बैंकले सञ्चालन गरेको तालिममा २७ वटा सहकारी संघ संस्थाका ४४ जनाको सहभागिता रहेको थियो ।