काठमाडौं । विदेशी ब्राण्डको नक्कली मदिरा बनाएर बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं ३ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २७ वर्षीय निरज उप्रेती, स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ९ घर भई हाल काठमाडौंको टोखा बस्ने २६ वर्षीय धर्मी गौडेल र सिन्धुलीको तिनपाटन घर भई हाल ललितपुरको टिकाथली बस्ने २६ वर्षीय गणेश बहादुर राना मगर रहेको प्रहरीले जनाएको छ । विशेष सुराकीका आधारमा प्रहरीले अपरेसन लिमा २ सञ्चालन गरी उनीहरुलाई ललितपुरको विभिन्न क्षेत्रबाट पक्राउ गरेको बताइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल, राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामद गरेको बताए ।
उनले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको बताए । उनले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरेको जानकारी दिएका छन् । पक्राउ परेकाहरुबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।