काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले साधारण सेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ५० करोड रुपैयाँमध्येबाट १० प्रतिशतको अनुपातमा एक सय रुपैैयाँ अंकित मूल्य कायम रहने गरी पाँच करोड रुपैयाँबराबरको पाँच लाख कित्ता साधारण सेयरको बिक्री खुला गर्न लागेको हो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमार्फत यही माघ २३ गतेबाट खुला हुने साधारण सेयरको बिक्रीकार्य छिटोमा माघ २६ गते र ढिलोमा फागुन आठ गते बन्द हुनेछ । बिक्री गरिने कुल सेयरमध्येमा १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि, पाँच प्रतिशत अर्थात् २५ हजार कित्ता सामूहिक लगानी कोषको लागि र दुई प्रतिशत अर्थात् १० हजार कित्ता कम्पनीमा कार्यरत कर्मचारीको लागि बिक्री छुट्याएर बाँकी रहेको चार करोड १५ लाख रुपैयाँबराबरको चार लाख १५ हजार कित्ता सेयर भने सर्वसाधारणको लागि बिक्री गर्न लागिएको हो । खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम २० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।