काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट प्रदेशगतरूपमा छनोट भएका नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका एक सय ७९ जना कर्मचारीहरूलाई १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक ग्राहकहरूलाई चुस्त गुणस्तरीय सेवा लिई संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति सक्षम हुने बताए । उनले विभिन्न प्रक्रियापश्चात् बैंकले एक पटक ठूलो संख्यामा युवा कर्मचारीहरूलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृष्ट हुने बताए । उनले अन्य सहायक स्तरका कर्मचारीहरूको भर्ना प्रक्रिया छिटै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीले युक्त हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरू देवेन्द्ररमण खनाल र सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरूलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशोधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त वरिष्ठ सहायक प्रशासन सेवाका एक सय ७९ जना कर्मचारीहरूलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू देवेश प्रसाद लोहनी, पवन रेग्मी, विनयरमण पौडेल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्षी जिसीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकको हाल सातवटा प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ६५ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६८ वटा एटीएम र एक सय दुईवटा शाखारहित बैंकिङ रहेको छ ।