काठमाडौं । माछापुच्छ्रे बैंक र स्मार्ट च्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) तथा माछापुच्छ्रे बैंकबीच एससीटी यूपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता भएको हो ।
सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र माछापुच्छ्रे बैंकका तर्फबाट प्रमुख डिजिटल बैंकिङ अधिकृत माधव सुवेदीले हस्ताक्षर गरेका हुन् । विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्ट च्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको कम्पनीले जानकारी दिएको छ ।
सम्झौतापछि माछापुच्छ्रे बैंकका ग्राहकहरूले एससीटी यूपीआई डेबिट कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्राप्त गर्न सक्नेछन् । साथै, एससीटी यूपीआई सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पोस, ई–कमर्सजस्ता सेवा सजिलै लिन सक्ने कम्पनीले बताएको छ । बैंकले हाल देशका सातवटै प्रदेशमा, एक सय ६५ वटा शाखा कार्यालय, ११ वटा एक्सटेन्सन काउन्टर, एक सय ५७ वटा शाखारहित बैंकिङ सेवा, दुई सय छवटा एटीएममार्फत १३ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
माछापुच्छ्रे बैंकद्वारा विद्यार्थीहरूलाई न्यानो कपडा र ब्ल्याङकेट वितरण
माछापुच्छ्रे बैंक लि.ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश नं. १, उदयपुर जिल्लास्थित श्री सिद्धवती माध्यमिक विद्यालय, खाँबुमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको छ । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न परिवारका बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले उक्त स्कुलमा दुई सय ६५ थान स्वेटर वितरण गरेको हो ।
यसैगरी बैंकले जाडो मौसमलाई नै मध्यनजर गर्दै मधेश प्रदेश, पर्सा जिल्ला, जगन्नाथपुर गाउँपालिका अवस्थित जामिया कुलफा मदरशामा अध्ययनरत मुस्लिम समुदायका विद्यार्थीहरूलाई समेत ४० थान ब्ल्याङकेट हस्तान्तरण गरेको छ । बैंकले यसअघि पनि सामाजिक कार्यमा सक्रिय रहेका विभिन्न संघसंस्थाहरूलाई सहयोग गर्दै आएको थियो ।