काठमाडौं । ‘इन्टिलेक्चुअल ग्रोथ’ भन्ने नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले तीनदिने ब्रान्च मेनेजर कन्फ्रेन्स नगरकोटस्थित होटल मिस्टिक माउन्टेनमा सम्पन्न गरेको छ । कम्पनीका शाखाप्रमुख एवं मार्केटिङ कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी चालू आवको बाँकी अवधिको व्यावसायिक खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागीय प्रमुख तथा देशैभरिबाट शाखाप्रमुख एवं मार्केटिङ कर्मचारीहरू गरी एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको उक्त सम्मेलनको समुद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको स्थितिमा आफ्नो दक्षता, मिहिनेत र आपसी समन्वयबाट कम्पनीको व्यावसायिक लक्ष्य हासिल गरी बीमा बजारमा अग्रस्थानमा पु-याउन हामी सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै अधिकतम प्रयास गर्नुपर्ने सुझाव दिएका थिए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका विषयहरूमा प्रस्तुति दिँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमासँग सम्बन्धित हरेक विषयलाई कानुनीरूपमा नै नियमन गर्नसक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी गराएका थिए ।
उपस्थित शाखाप्रमुख तथा मार्केटिङ कर्मचारीहरूलाई कम्पनीका सहायक महाप्रबन्धक प्रज्ज्वल सायमीले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने विभागीय काम कार्यवाहीमा शाखा कार्यालयको भूमिकाका बारेमा प्रस्तुति दिएका थिए । यसैगरी सम्मेलनमा सहभागी कर्मचारीहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यले व्यक्तित्व विकास सम्बन्धमा र प्रोडक्ट मिक्सिङका प्राविधिक पक्षहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।