सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अग्निपीडित परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । अग्निपीडित सहयोग समितिमार्फत विभिन्न सहयोगी व्यक्तिहरुबाट सङ्कलन भएको ५८ लाख १० हजार तीन सय १५ रुपैयाँ रकम शुक्रबार एक कार्यक्रमका बीच पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
उक्त सहयोग रकम अग्नि आगलागीबाट पूर्णरुपमा घर गुमाएका गणेश बस्नेतलाई १२ लाख ८७ हजार, कल्पना बस्नेतलाई ११ लाख ६७ हजार, वुद्विबहादुर कार्कीलाई ११ लाख २२ हजार, रमेश बस्नेतलाई १० लाख २४ हजार र आंशिक क्षति भएका प्रणय राईलाई ५ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ । यस्तै भाडामा बसेका मिङ्मार तामाङलाई दुई लाख ७१ हजार, मोहन भुजेललाई एक लाख ३० हजार, बुद्धि बहादुर केसीलाई ७६ हजार, सुरेन्द्र कार्कीलाई ४० हजार, हेमन्त बस्नेतलाई २० हजार, भिम कुमारी बस्नेतलाई २९ हजार, बिक्रम बस्नेतलाई १३ हजार र ङ्वाङ गिर्मी शेर्पालाई १६ हजार रुपैयाँ हस्तान्तरण गरिएको वडाध्यक्ष एवं सहयोग सङ्कलन समितिका अध्यक्ष घनराज सुनुवारले जानकारी दिए ।
समितिको कोषमा देश तथा विदेशबाट सङ्कलित रकम क्षतिको आधारमा विभाजन गरी हस्तान्तरण गरिएसँगै सहयोग सङ्कलन कार्य समेत सकिएको अध्यक्ष सुनुवारको भनाइ छ । गत पुस ५ गते मंगलबार दिउँसो करिब ४ बजे वडा नम्बर १ को साप्ताहिक हाट नेले बजारमा भएको आगलागीमा चार घर पूर्णरुपमा नष्ट भएको थियो भने अन्य केही अन्य घरहरुमा समेत आंशिक क्षति भएको थियो ।