काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले यात्रुहरुको सहजताका लागि अनलाइन टिकटको व्यवस्था गरेको छ । यो सेवा हाललाई इ–सेवा पोर्टलबाट पूर्ण रुपमा सर्वसुलभ हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ टिकट काट्न सक्ने प्रबन्ध गरेको निगमले जनाएको छ । यसैगरी क्रमशः अन्य लोकल वालेटबाट पनि टिकट काट्ने व्यवस्था गरिने निगमले एक विज्ञप्ति जारी जानकारी दिएको छ ।
अन्तर्राष्ट्रियतर्फ भने निगमको वेबसाइटमार्फत अन्तर्राष्ट्रिय कार्डबाट टिकटहरु केही समय अघिदेखि बिक्री भइरहेको थियो । त्यसैगरी, निगमले दुर्गम÷विकट क्षेत्रका जनतालाई आन्तरिक उडान सेवा प्रवाहको प्राथमिकतामा राखेको जनाएको छ । निगम पर्यटकीय क्षेत्र लक्षित सेवा विस्तारको तयारीमा समेत रहेको छ । ‘आम जनमानसमा निगमले उपलब्ध सिट समेत बिक्री नगर्ने लगायतको गुनासो यदाकदा सुन्नमा आउने गरेकोले यस विषयलाई स्पष्ट पार्नु निगमले आफ्नो कर्तव्य ठानेको छ’, निगमले भनेको छ, ‘आन्तरिकतर्फ उडान हुने विमानको उपलब्ध सिट संख्या १९ भए पनि विमानको यात्रु बोक्ने क्षमतामा उडान गन्तव्यको मौसम, इन्धनको उपलब्धता, विमानको प्राविधिक क्षमतालगायतका विविध कारणहरुले प्रभाव पार्ने हुँदा बिक्री गर्न सकिने सिट संख्यामा स्वतः परिवर्तन हुने जानकारी गराइन्छ ।’