दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोलखाको जिरीलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न लगानी वृद्धि गर्ने योजना बनाएको बताएका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यसमितिको तेस्रो साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै उनले दोलखाको ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय नगरी जिरी तथा जिल्लाका विभिन्न पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा आवश्यक बजेटलाई वृद्धि गर्न प्रदेश सरकार तयार रहेकोे बताए ।
पर्यटकीय नगर जिरीलाई क्लिन जिरी, ग्रिन जिरी र अर्गानिक जिरी बनाउने नगरपालिकाको योजनालाई सफल बनाउन समेत बागमती सरकारले आवश्यक लगानी गर्ने उनको भनाइ थियो । त्यस्तै उनले जिरीको पर्यटन एवं विकास अभियानमा सम्पूर्ण सञ्चारक्षेत्रले आफ्नो क्षेत्रबाट प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । दोलखाको विकास र समृद्धि गर्न प्रदेशकै गौरवको आयोजनाको रूपमा जिरीमा मानव निर्मित ताल निर्माण गर्न लागेको समेत उनले जानकारी दिए । प्रदेश सरकारले प्रदेशका ठूला आयोजनाको रूपमा दोलखाका तीनवटा आयोजनालाई राखेको बताउँदै उनले जिरी ताल, अन्तर्राष्ट्रिय फिल्मसिटी र हनुमन्ते क्षेत्रलाई पर्यटकीय योजनाको रूपमा निर्माण गर्न सुरु गरेको उल्लेख गरे । त्यस्तै उनले दोलखालगायत १० जिल्लामा एकीकृत सेवा केन्द्र स्थापना गरेर जिल्लाबाटै प्रदेशका सम्पूर्ण सेवा दिने गरी आगामी वर्षदेखि सेवा केन्द्र स्थापना गर्ने बताए ।
कार्यक्रममा उनले विकासको मोडालिटी परिवर्तन गरेर साना टुक्रे योजनाभन्दा ठूला योजनामा लगानी गर्नुपर्ने बताए । त्यसैगरी बागमती प्रदेशले पत्रकार र आमसञ्चारको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रदेशभित्रका पत्रकारको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष स्थापना गराउन ५० लाख बजेट छुट्याउने बताए । सबै जिल्लाका सक्रिय पत्रकारलाई उक्त कोषमा आबद्ध हुन समेत उनले आग्रह गरे । यस्तै कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले सबै पत्रकारको बीमा गर्ने नीति लिएकाले सबै पत्रकारलाई सुरक्षा बीमामा आबद्ध गराउन जिल्ला शाखाले भूमिका खेल्नुपर्ने बताए । त्यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले स्थानीय सरकारले विकासका योजनालाई अघि सार्दा श्रमजीवी पत्रकारको हितमा पनि योजना बनाएर काम गर्नुपर्ने बताए । पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा जिरीमा सम्पन्न साधारणसभाले जिरी घोषणापत्र २०७९ समेत जारी गरेको छ ।