काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसीएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिनपोसबाट नेपाल–पे ट्याप र नेपाल–पे क्यूआर सेवाको थालनी गरेको छ । ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरूको फिनपोस डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।
अब इन्टरनेटविना पनि ग्राहकले नेपाल–पे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी डायनामिक नेपाल–पेलाई पनि एनआईएमबीले आफ्नो फिनपोसमा सुचारु गरेको छ । उक्त फिनपोसमा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ । एनआईएमबीले सुरुवात गरेको पोस डिभाइसमा क्यूआर र एनएफसीमार्फत गरिने भुक्तानी सेवा नेपालमै पहिलो हो ।
नेपाल–पे ट्याप, एनएफसी प्रविधिमा आधारित छ जसले दुईवटा डिभाइसहरूबीचको निकटताको आधारमा सुरक्षित भुक्तानी कारोबार गर्दछ । यो पीटुपी र पीटुएम भुक्तानीहरूको लागि कन्ट्क्याटलेस भुक्तानीको माध्यम हो । ग्राहकलाई एनएफसीसम्बन्धी भुक्तानीको लागि आफ्नो फोनमा इन्टरनेटको आवश्यकता पर्दैन । यससँगै अब ग्राहकले पोसबाट भुक्तानी गर्दा कार्डको प्रयोगविना नै आफ्नो फोन फिनपोसमा ट्याप गरी भुक्तानी गर्न सक्नेछन् ।
हाल यो सेवा कनेक्ट आईपीएस मोबाइल एपमार्फत उपलब्ध रहेको छ । यो सुविधा प्रयोग गर्न भुक्तानीकर्ताको मोबाइलमा एनएफसी भएको हुनुपर्दछ । हाल नेपाल–पे ट्यापको कारोबार सीमाप्रति कारोबार पाँच हजार रुपैयाँसम्म रहेको छ र यसलाई ग्राहक आफैँले पनि निर्धारण गर्न सक्दछन् ।
सिटीटेकले विभिन्न बैंकका लागि अल इन वन मेसिनको रूपमा फिनपोस उपलब्ध गराउँदै आएको छ । मर्चेन्टहरूका लागि पनि सुरक्षित र सहज हुनुका साथै एकै उपकरणमार्फत विभिन्न भुक्तानी माध्यमबाट भएका कारोबारहरूको जानकारी सजिलै प्राप्त गर्न सकिन्छ । नेपाल–पे ट्याप र नेपाल–पे क्यूआर सेवा थपिएपछि बैंकले आफ्ना मर्चेन्टहरूलाई भुक्तानी प्राप्त गर्न थप विकल्प प्रदान गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक हाल डिजिटल भुक्तानीलाई थप प्रवद्र्धन गर्न निकै सक्रियरूपमा लागिरहेको अग्रणी बैंक हो भने बैंकले आफ्ना धेरैजसो सेवाहरू डिजिटल माध्यमबाट नै प्रदान गर्दै आएको छ । बैंकको देशभरि नौ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, सात लाख कार्ड प्रयोगकर्ता, चार हजारभन्दा बढी पोस तथा दुई सय ७८ वटा एटीएम रहेका छन् ।