काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्कासन गर्न नियमनकारी निकाय विद्युत् नियमन आयोगबाट सहमति पाएको छ ।
कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी तीन अर्ब चौरासी करोडमा गत आर्थिक वर्षको सात दशमलव पाँच प्रतिशत बोनस सेयर समेत समावेश गरी कायम हुने चुक्ता पुँजी चार अर्ब १३ करोड ३२ लाख रुपैयाँको १ः०.४० को अनुपातमा एक सय अङ्कित दरका एक करोड ६५ लाख ३३ हजार एक सय ३७ कित्ता हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो ।
कम्पनीले सञ्चालन गरी विद्युत् उत्पादन गरिरहेको आयोजनाहरूको ऋणमोचन गर्ने निर्णयबमोजिम हकप्रद निष्काशन गर्न विद्युत् नियमन आयोगको पूर्व स्वीकृति प्राप्त भएको हो । अब आगामी बस्ने कम्पनीको १९औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्डसमक्ष अन्तिम स्वीकृतिको लागि पेस भई हकप्रद सेयर जारी तथा निष्काशनको स्वीकृति प्राप्त भएपछिमात्र हकप्रद सेयर निष्काशन तथा बिक्री गरिनेछ ।