काठमाडौं । फोर एच नेपालले नेपाली तरकारीको न्यूनतम मूल्य निर्धारण गर्न सरकारसँग माग गरेको छ । फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले बिहीबार एक विज्ञप्ति जारी गरी नेपाली किसानले उत्पादन गरेका वस्तुको न्यूनतम मूल्य निर्धारण गर्न माग गरेका हुन् ।
यस्तै चितवनका किसानले आफूले उत्पादन गरेको तरकारीले उचित बजार मूल्य नपाएपछि तरकारी सडकमा फालेर विरोध जनाएको एक हप्ता पुग्दा पनि सरकारले कुनै पहलकदमी नगरेको भन्दै फोर एच नेपालले सरकारको ध्यानाकर्षण समेत गराएको छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘किसानका मागप्रति नेपाल सरकारले चासो नदेखाउनुले सरकार किसानप्रति कति संवेदनशील छ भन्ने कुराको पुष्टि भएको छ ।’ पीडित किसानका माग तत्काल पूरा गर्न पनि फोर एच नेपालले माग गरेको छ । विदेशबाट आयात गरिएका तरकारी सस्तो मूल्यमा बजारमा उपलब्ध हुनेगरेका कारण नेपाली किसानले उत्पादन गरेका तरकारीले बजार पाउन नसकेको जनाइएको छ ।
साथै नेपाली किसानको बढी लागत मूल्य बढी हुनु, बजारसँग सिधै पहुच नहुनु र बिचौलियाकोे कारण किसानले कम मूल्य पाउने र उपभोक्ता बढी मूल्य तिर्नुपर्ने बाध्यता रहेको विज्ञप्तिमा उल्लेख छ । सरकारले बिचौलियालाई नियन्त्रण गर्न नसकेको र सरकारको बजार मूल्य निर्धारण प्रणाली प्रभावकारी नभएको फोर एच नेपालको भनाइ छ । ‘नेपाली कृषि क्षेत्र, कृषि उत्पादन तथा कृषि बजारीकरण बारेमा नेपाल सरकारसँग आवश्यक तथ्याङ्क, आवश्यकताको पहिचान तथा व्यवस्थापन प्रणालीसम्बन्धी एकीकृत नीति, योजना तथा कार्यक्रमको अभावले कृषिसम्बन्धी समस्याको दिगो समाधान हुन नसकेको हो’, विज्ञप्तिमा भनिएको छ ।
विदेशबाट कति आयात गर्ने र नेपाली किसानले उत्पादन गरेको उत्पादनले कति बजार धान्न सक्छ भन्ने कुराको एकिन नहुनुले किसान मारेको जनाइएको छ । समस्या समाधानका लागि तत्काल एक अधिकारसम्पन्न उच्चस्तरीय समिति गठन गर्न पनि सरकारसँग माग गरेको छ । फोर एच नेपालले साना नेपाली किसानलाई पूर्ण अनुदान तथा व्यावसायिक किसानलाई सहुलियत दरमा ऋण उपलब्ध गराउन माग गरेको छ ।
आवश्यकताका आधारमा मात्र विदेशबाट तरकारी आयात गर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग अनुरोध गरेको छ । घाटामा रहेको किसानलाई न्यूनतम बजार मूल्य निर्धारण गरी उचित क्षतिपूर्तिको दिलाउन पनि सरकारसँग फोर एच नेपालले माग गरेको छ । फोर एच नेपाल एक दशकदेखि कृषिमा युवा सहभागिता तथा कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।