काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार सञ्चालनको चार वर्ष पूरा गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा आउँदा पुराना स्थापित र पछि आएका कम्पनीहरुसँग अस्वस्थ प्रतिस्पर्धाका बीच गुणस्तरीय कारोबार गर्नु ठूलो चुनौती थियो । कम्पनी स्थापनापछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा सञ्जाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाइ नै भोग्नुपरेको जानकारी दिएको छ ।
‘नेपालको जीवन बीमा बजारमा देखा परेको अनेकौँ समस्या र कठिनाइको बीचमा रहेर बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा गुणस्तरीय व्यवसायसँगै कम्पनीको विस्वासनीयता वृद्धिलाई प्राथमिकतामा राखेका थियौँ । प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाइफ र महिला सशक्तीकरणमा महालक्ष्मी लाइफजस्ता जनचेतनामूलक कार्यक्रम लिएर देशैभरि अभियान सञ्चालन ग-यौँ’, कम्पनीले भनेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यी सबै कार्यक्रम सञ्चालन गरेको कारण कारोबारमा निरन्तर वृद्धिसँगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएका छौँ ।
त्यसैको फलस्वरुप प्रत्येक वर्ष मुनाफासँगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनीभन्दा राम्रो दिन सफल भएका छौँ । कम्पनीले गत आव २०७८/७९ को पुस मसान्तको तुलनामा चालू आव २०७९/८० को पुस मसान्तसम्ममा चुक्ता पुँजीमा ५० प्रतिशत, जगेडा कोषमा ६० दशमलव सात प्रतिशत, जीवन बीमा कोषमा ५६ दशमलव चार प्रतिशत, महाविपति कोषमा ४४ दशमलव पाँच प्रतिशत, कर्जा लगानीमा २९ दशमलव पाँच प्रतिशत, दाबी भुक्तानीमा ३८ प्रतिशत र मुनाफामा ३५ दशमलव चार प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
‘नेपाल बीमा प्राधिकरणले २०७९ चैत्रभित्र अनिवार्यरुपमा पुँजी वृद्धि गर्ने निर्देशन दिएपछि प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको लागि अगाडि बढेका छौँ । भारतीय बीमांकीबाट सम्पत्ति दायित्वको मूल्यांकन प्रतिवेदन आउन निकै ढिला भएको कारण निर्धारित समयमा एकीकृत कारोबार गर्न नसकेता पनि २०७९ चैतभित्र मर्जरकार्य सम्पन्न गर्ने लक्ष्य लिएका छौँ’, एकीकृत कारोबारपछि बन्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले मितव्ययी तरिकाले गुणस्तरीय कारोबार सञ्चालन गर्दै लगानीकर्ता र बीमितहरुको हितलाई सधैँ सर्वोपरि राखी काम गर्ने विश्वास पनि कम्पनीले दिएको छ ।