काठमाडौं,बीमा दाबी गर्न आफ्नै गाडीमा आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । बीमा दाबी गर्ने मनसायले आफैँ लु.२ख २०८४ नम्बरको फोर्स गाडीमा आगजनी गरेको अभियोगमा गाडीका चालक मधुवन नगरपालिका–२ गंगापटुवा बस्ने रामु चौधरीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
मधुवन नगरपालिका–४ वसन्तास्थित माचड चोकदेखि भुरिगाउँ जोड्ने पक्की सडकमा गएराति उक्त गाडीमा आगलागी भई पूर्ण रूपमा जलेर नष्ट भएको थियो । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा उक्त गाडीका चालक चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको संलग्नता रहेको खुल्न आएको हो ।
माघ २० गते उक्त गाडी बिग्रिएकोले मर्मतको लागि ग्यारेजमा लगेको र मर्मत गर्न बढी रकम लाग्ने हुँदा चौधरीले बीमा दाबी गर्ने मनसायले गाडीलाई आइतबार राति उक्त स्थानमा लगेर डिजल छर्की आगो लगाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।