काठमाडौं,बैंक तथा फाइनान्स कम्पनीहरुले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा पनि बढी कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको न्यूनतम ११ प्रतिशत कृषि क्षेत्रमा, छ प्रतिशत ऊर्जा क्षेत्रमा र ११ प्रतिशत लघु, घरेलु, साना एवम् झोला उद्यमको क्षेत्रमा (एक करोडभन्दा कम रकमका कर्जा तथा प्रत्यक्षरुपमा प्रवाह भएका विपन्न वर्ग कर्जासमेत) प्रवाह गर्नुपर्ने व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुले मात्र कृषि क्षेत्रमा आफ्नो कुल कर्जा १३ प्रतिशत अर्थात् पाँच खर्ब ४३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसैगरी ऊर्जा क्षेत्रमा पनि वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको छ दशमलव तीन प्रतिशत अर्थात् दुई खर्ब ६२ अर्ब ५५ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस अवधिमा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा भने वाणिज्य बैंकहरुले आफ्नो कुल कर्जाको नौ दशमलव ९६ प्रतिशत अर्थात् तीन खर्ब ९६ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा वाणिज्य बैंकहरुको मात्र कुल निक्षेप तथा कर्जा रकम क्रमशः ४७ खर्ब २४ अर्ब र ४२ खर्ब ८२ अर्ब रुपैयाँ छ ।
विकास बैंकहरुले २०८० असार मसान्तसम्ममा कुल कर्जा लगानीको १६ प्रतिशत कर्जा कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरुमा औसत २६ दशमलव छ प्रतिशत अर्थात् एक खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ ।
यसैगरी फाइनान्स कम्पनीहरुले पनि २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको ११ प्रतिशत कृषि, लघु, घरेलु तथा साना उद्यम÷व्यवसाय, ऊर्जा र पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा उक्त क्षेत्रहरुमा औसत २२ दशमलव चार प्रतिशत अर्थात् १९ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार यस अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीहरुको कुल निक्षेप तथा कर्जा रकम भने क्रमशः छ खर्ब ३८ अर्ब र पाँच खर्ब ४४ अर्ब रुपैयाँको हाराहारीमा छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुले आफ्नो कुल कर्जा सापटको न्यूनतम पाँच प्रतिशत कर्जा विपन्न वर्गमा प्रवाह गर्नुपर्ने व्यवस्था रहेकोमा २०७९ पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुको छ दशमलव सात प्रतिशत अर्थात् दुई खर्ब ८० अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ । यसैगरी विकास बैंकहरुको ११ दशमलव एक प्रतिशत अर्थात् ४८ अर्ब २३ करोड र फाइनान्स कम्पनीहरुले सात दशमलव तीन प्रतिशत अर्थात् छ अर्ब २९ करोड रुपैयाँ कर्जा विपन्न वर्ग क्षेत्रमा प्रवाह गरेको राष्ट्र बैंकको भनाइ छ ।