काठमाडौं । एमएडब्लू ग्रुपले अत्याधुनिक इलेक्ट्रिक गाडीहरु नेपालमा ल्याउन चिनियाँ सेरेस समूहसँग सम्झौता गरेको छ । एमएडब्लू ग्रुपले ईभी एसयूभी, ईभी सेडन्स र ईभी मिनी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारीको घोषणा गरेको हो ।
एमएडब्लुले सन् २०२३ को तेस्रो त्रैमासिकदेखि नेपालमा ईभी एसयूभी, ईभी सेडन्स र ईभी मिनी लन्च गर्ने जनाएको छ । एमएडब्लु समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले सेरेस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक ईभी नेपालमा ल्याउन पाउँदा हर्षित भएको बताए । यो साझेदारीले कम्पनीलाई नेपाली अटो बजारमा नेतृत्व दिन अझ बलियो बनाउन मद्दत गर्ने उनको दाबी थियो ।
यस्तै सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले सेरेस विश्वव्यापी स्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध रहेको बताए । सेरेसका ईभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लू समूहसँग साझेदारी गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो । कम्पनीका उच्च गुणस्तरीय र कुशल ईभी नेपाली उपभोक्ताहरूले राम्रोसँग प्राप्त गर्ने उनले बताए ।