काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा भृकुटीमण्डममा आठौँ बृहत् राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला हुने भएको छ । ‘कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो’ भन्ने मूल नाराका फागुन ३ देखि ९ गतेसम्म प्रदर्शनी मेला सञ्चालन हुन लागेको हो । संघले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।
मेलाको उद्घाटन महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गर्नेछिन् । नेपाली साना घरेलु तथा लघु उद्योगहरुलाई आधुनिकीकरण गर्दै विदेशी बजारमा समेत सुपरिचित गराउँदै राष्ट्रिय अर्थतन्त्रमा आमूल परिवर्तन ल्याउने लक्ष्यका साथ मेलाको आयोजना गरिएको संघले जनाएको छ । मेलामा करिब ७० देखि ८० हजार दर्शक भित्र्याउने लक्ष्य लिइएको छ । साथै मेलामा नयाँ मोडलका आधुनिक जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरु प्रदर्शन गरिनेछन् ।
गुणस्तरीय कच्चा पदार्थ तथा दक्ष जनशक्ति प्रयोग गरी उत्पादन गरिएका जेन्स, लेडिज, बच्चाका जुत्ताहरुलगायत अल्लो तथा हेम्पद्वारा निर्मित वस्तुहरु पनि प्रदर्शन तथा बिक्रीवितरण गरिने आयोजकले जनाएको छ । यस्तै अपांगता भएका व्यक्तिहरुका लागि विशेष किसिमका जुत्ता चप्पलहरु उपलब्ध हुनेछ भने कम्पनीहरुले आफ्नो उत्पादनको गुणस्तरबारे उपभोक्तालाई प्रत्यक्ष जानकारी गराउनेछन् ।
साथै मेलामा बिक्रीवितरण गरिने जुत्तामा छ महिनासम्मको वारेन्टी तथा चप्पल र जुत्तामा १५ देखि २५ प्रतिशतसम्मको छुटको व्यवस्था गरिएको छ । मेलामा न्यूनतमदेखि उच्चतम मूल्य तिर्नसक्ने सबैखाले उपभोक्ताहरुको लागि गुणस्तरीय तथा आरामदायी तथा आकर्षक छालाका जुत्ता तथा छालाजन्य वस्तुहरु उपलब्ध गराइने आयोजकको दाबी छ । साथै मेलामा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । मेलाको सहआयोजक घरेलु तथा साना उद्योग महासंघ व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र र नेपाल चेम्बर अफ कमर्स छन् भने सगुन शुज सिटिजन फुटवेयर, सक्सेस शुज पारागन फुटवेयर र मध्यपुर जुत्ता उद्योग कम्फर्ट शुजले मेलाको प्रायोजन गरेका छन् ।