काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र नागरिक लगानी कोषबीच अनलाइन कारोबारमार्फत नागरिक लगानी कोषका योगदानकर्ताको रकम जम्मा हुने आधुनिक व्यवस्था कार्यान्वयन गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
सो सम्झौताबमोजिम राष्ट्रसेवक कर्मचारीहरूको कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रम र राष्ट्रसेवक कर्मचारीहरूको सावधिक जीवन बीमा कार्यक्रमको कट्टी रकमलाई वेबमा आधारित ईसर्भिस सफ्ट्वेयरबाट समेत खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरिएको छ । एक कार्यक्रमका बीच नेपाल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले उक्त सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक र नागरिक लगानी कोषबीचको व्यावसायिक सम्बन्ध नागरिक लगानी कोषको स्थापनादेखि भएको बताउँदै बैंकिङसम्बन्धी कारोबारमा कुनै गुनासो नआउने गरी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले सञ्चालन गरेका कार्यक्रमहरूलाई नेपालकै पहिलो बैंकले सधैँ साथ सहयोग गर्दै आएको र हालको यो नयाँ अनलाइन कारोबारमा पनि सोहीबमोजिम बैंकिङ सेवा दिनेमा विश्वस्त रहेका बताए ।
नेपालभर दुई सय २६ वटा शाखाहरू, दुई सय दुईवटा एटीएम साथै ५२ एक्सटेन्सन काउन्टरमार्फत करिब २३ लाख ग्राहकहरूलाई वित्तीय सेवा पु-याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा पु-याई प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । बैंकले छिटोछरितोे र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्तिमार्फत नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।