काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहा गर्ने प्रक्रिया अघि बढाएको छ । आगजनीको आरोपमा ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई कारागार प्रशासनमार्फत कैद छुटको साटो ‘माफी मिनाहा’को प्रक्रियाबाट रिहा गर्न खोजिएको हो । राजनीतिक आस्था, विचार र धारणाका कारण थुनामा रहेका र कैद सजाय भोगेकालाई मात्रै ‘माफी मिनाहा’को प्रक्रियाबाट रिहा गर्नुपर्ने मान्यता छ । सोही व्यवस्था अनुसार चौधरीको हकमा सरकारले प्रक्रिया अघि बढाएको हो । स्रोतका अनुसार राष्ट्रपति कार्यालयले आगामी ७ फागुनमा प्रजातन्त्र दिवसका अवसरमा असल चालचलन भएका केही कैदीहरुको कैद माफी मिनाहा गर्दैछ । अदालतको आदेशअनुसार सांसद चौधरी केही साता अघिमात्रै पक्राउ परेका थिए ।