काठमाडौं । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफले एक करोड एक लाखको दाबी भुक्तानी गरेको छ । पोखरा उ.म.पा–१७, कास्की ठेगाना भएकी बीमित संगिता शाहीको यही माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनामा असामयिक निधन भएको थियो । बालाजु शाखामा आयोजित एक कार्यक्रमका बीच मृतकले इच्छाइएको व्यक्ति कोपिला घर्ती क्षेत्री (आमा)लाई एक करोड एक लाखको चेक हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।
आफ्ना जीवनकालमा स्वः संगिता शाहीले नेपाल लाइफ इन्स्योरेन्स क.लि बालाजु शाखा कार्यालयबाट २०७९ भदौ २९ गते ५० लाख रुपैयाँ बीमांक भएको जीवन सहारा बीमा योजना लिएकी थिइन् । बीमांकबापतको रकमअन्तर्गत ५० लाख र दुर्घटना मृत्युदाबीबापत ५० लाख रुपैयाँ गरी जम्मा एक करोड एक लाख रुपैयाँ इच्छाइएको व्यक्ति (आमा)लाई प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ । २०७९ पौष मसान्तसम्ममा कम्पनीको लगानी एक खर्ब ५६ अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब ५० अर्ब ८५ करोड रुपैयाँ र सेयरधनी कोष नौ अर्ब ५२ करोडभन्दा बढी रहेको छ ।
कम्पनीमा दुई लाख १२ हजार तीन सय ६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब एक सय ९७ कार्यालय सञ्जालहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म एक खर्ब ९७ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजनाअन्तर्गत ३१ लाख १५ हजार चार सय २० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरू समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।