काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई राजसंस्थासँग सहकार्य गर्न विलम्ब गर्न नहुने बताएका छन् । मुलुक अधोगतिमा लागेको भन्दै उनले प्रजातन्त्र जोगाइराख्न राजनीतिक दलले राजसंस्थासँग आपसी विश्वासका साथ सहकार्य गर्नुपर्ने बताएका हुन् ।
प्रजातन्त्र दिवशको अवसरमा एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्न नहुने बताएका छन् । उनले राज्यसत्ताको बागडोर ज -जसको हातमा आएपनि वर्तमान राज्यव्यवस्थाले जनताको सु:ख , शान्ति र श्रीवृद्धिमा कुनै योगदान दिन नसकेको भन्दै नेताहरु दलगत, पारिवारिक र व्यक्तिगत लोभ र लालचको जञ्जालमा फसेको बताएका छन् ।
शाहले नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थकेन्द्रित अपरिपक्व परराष्ट्र नीतिको अभ्यास गम्भिर चिन्ताको विषय भएको उल्लेख गरेका छन् । यावत वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको भनाई छ । उनले वक्तव्यमा भनेका छन् ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’
उनले भनेका छन् देशभक्ति, सुशासन, आर्थिक प्रगति,सार्वभौमिक भावना र सनातन धर्मसहितको नेपाली पहिचानको सम्बर्द्धन गर्ने गराउने ध्येयलाई नै मूल्यमान्यताको रुपमा स्थापित गरौँ । ज्ञानेन्द्रले भनेका छन्, ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’
