काठमाडौं । सन् २०२२ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा सात हजारभन्दा बढी व्यक्ति पीडित भएको पाइएको छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा सन् २०२२ मा सात हजार तीन सय ७६ जना पीडित भएको तथ्यांक सार्वजनिक गरिएको हो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजानिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ विमोचन कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो । सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा सो तथ्यांक समेटिएको इन्सेकले जनाएको छ । इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सात हजार तीन सय ७६ जना पीडित भए । सन् २०२१ मा यस्ता घटनामा छ हजार दुई सय ८५ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ ।
सन् २०२२ मा राज्य पक्षाबाट भएका मानव अधिकार उल्लङ्घनका घटनामा ५० महिला र पाँच सय ७२ पुरुष गरी ६ सय २२ जना तथा अन्य पक्षाबाट भएका ज्यादतीका घटनामा पाँच हजार नौ सय ४४ जना महिला, आठ सय सात र तीन जना यौनिक तथा लैङ्गिक अल्पसंख्यकसहित छ हजार सात सय ५४ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।
सार्वजनिक तथ्यांकअनुसार महिलामाथि हुने हिंसाका घटनामा सबैभन्दा बढी चार हजार दुई सय २८ जना पीडित देखिएको छ । महिलाविरुद्धको हिंसामा पनि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा एक हजार छ सय २३, सुदूरपश्चिम प्रदेशमा ९ सय ५६, प्रदेश एकमा चार सय ५७, बागमती प्रदेशमा चार सय ३४, गण्डकी प्रदेशमा तीन सय ३७, कर्णाली प्रदेशमा दुई सय ११ र मधेश प्रदेशमा दुई सय १० जना पीडित भएका इन्सेकले जनाएको छ ।