काठमाडौं । विराटनगरका लागि मंगलबार उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको उक्त जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाजमा के समस्या देखिएको हो भन्ने खुलेको छैन । अहिले जहाज पार्किङ–वेमै छ ।
यात्रु बोर्डिङ पूरा गरी धावनमार्ग नजिकै पुगेको एसएयू ७२१ उडान नम्बरको जहाजमा इन्डिकेटरले समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको सिटौलाले बताए ।
विमानस्थलले जनाए अनुसार जहाज कम्पनीका इञ्जिनीयरले जहाजमा भएको समस्याका विषयमा छानबिन गरेर जहाज उडानका लागि योग्य भएको जानकारी गराएपछि मात्रै जहाजले उडान अनुमति पाउने छ ।