काठमाडौं । विरामी सुरक्षा सम्बन्धी पाँचौं मन्त्रीस्तरीय शिखर सम्मेलनमा सहभागी हुन स्वीट्जरल्याण्ड पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस एडहानोम गेब्रेयसससँग भेटवार्ता गरेका छन् ।
भेटमा मन्त्री गिरीले विश्व स्वास्थ्य संगठनले नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका लागि आभार प्रकट गरेका थिए । विशेष गरी पोलियोलगायत खोप, विभिन्न प्रकोपको नियन्त्रण रोकथाम, निवारण र उन्मूलनमा खेलेको योगदानको साथै मातृशिशु स्वास्थ्यमा नेपालका लागि खेलेको भूमिकाका लागि मन्त्री गिरीले महानिर्देशक डा. टेड्रोसप्रति आभार व्यक्त गरे ।
डा. टेड्रोसले नेपालले स्वास्थ्य क्षेत्रमा फड्को मारिरहेको भन्दै डब्ल्यूएचओको तर्फबाट आवश्यक सहयोग निरन्तर हुने आश्वासन दिएका थिए । भेटमा नसर्ने रोग, प्रयोगशालाको सुदृढीकरण, स्वास्थ्य सुरक्षा लगायतका विषयमा पनि छलफल भएको थियो ।