राँझा । नेपालगञ्जमा आयोजित महिला उद्यम प्रदर्शनीमा १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । महिलाहरुलाई उद्यममा प्रेरित गर्न यही फागुनको ५ गतेदेखि लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी आयोजना गरिएको प्रदर्शनीमा १० लाखभन्दा बढीको कारोबार भएको थियो ।
महिला उद्यमी संघ नेपाल बाँकेकी वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी संयोजक सावित्री बस्नेतले महिला उद्यमीहरुले स्थानीय कच्चापदार्थको प्रयोग गरी निर्माण गरेका सामग्री, उत्पादन र वस्तुहरु प्रदर्शनीमा राखिएको जानकारी दिइन् । प्रदर्शनीमा बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, प्यूठान र सुर्खेत जिल्लाका महिला उद्यमीले उत्पादन गरेका वस्तुहरु प्रदर्शनीमा राखिएको महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष निरुपमा रस्तोगीले जानकारी दिइन् ।
नेपालगञ्ज उपमहानगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोगमा सुरु भएको प्रदर्शनीमा करिब ६० प्रदर्शनी कक्ष राखिएको थियो । महिला उद्यमीले उत्पादन गरेका थाकलका हाते ब्याग, सांस्कृतिक पहिचान झल्किने पोसाक, प्लास्टिकको विकल्पमा वातावरणमैत्री सालको पातको टपरी, स्थानीय उद्योगीद्वारा तयार पारिएको छालाको जुत्ता चप्पल, महिला सहकारीद्वारा सञ्चालित बेसार खेतीको उत्पादन, चाडपर्वमा पाइने र बनाइने नेपाली सांस्कृतिक परिकारको उत्पादन, लसुन र टिमुरको अचार छोप मेलाको आकर्षण रहेको उनको भनाइ छ । प्रदर्शनीको अन्तिम दिन सानो पुँजीबाट आफ्नो व्यवसाय सुरु गरेर सफलता हासिल गरेका तीन जना सफल महिला उद्यमीलाई सम्मान गरिएको छ ।