काठमाडौं । राष्ट्रपति चयनका सन्दर्भमा छलफल गर्न बसेको प्रमुख चार राजनीतिक दलको बैठकमा विभिन्न विकल्पमाथि छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
बालुवाटारमा भएको ४ दलबीचको छलफलमा राष्ट्रपतिको उम्मेदवारबारे विभिन्न कोणबाट प्रस्ताव आएर छलफल भएपनि आ–आफ्नो पार्टीभित्र पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने कांग्रेस महामन्त्री गगन थापाले बताए । महामन्त्री थापाले भने, “हामीले सबै दलसँग छलफल गर्दै आएका थियौँ, सोही क्रममा आज चार दलका बीचमा छलफल भएको हो, आजको छलफल सकारात्मक छ, हामी एउटा टुङ्गोमा पुग्छौँ ।”
बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता थियो ।