काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीले ऋणको भाखा नाघेको तीस दिनभित्र साँवा र ब्याज भुक्तानी गरेमा जरिवाना नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेकोे एकीकृत निर्देशन, २०७९ संशोधन गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो । यो व्यवस्था २०८० जेठ मसान्तसम्ममा भुक्तानीको भाखा रहेको साँवा र ब्याजमा मात्र लागू हुनेछ”, राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । तर कुनै ऋणीले छुट पाउने अवधिभित्र साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन भने बाधा नहुने नेपाल राष्ट्र बैंकको नयाँ नियममा उल्लेख छ । राष्ट्र बैंकले कर्जाको पुनःसंरचना र पुनःतालिकीकरणसम्बन्धी व्यवस्थामा पनि संशोधन गरेको छ । साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनमा सहजीकरण गर्न बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको रु दुई करोडसम्मको कर्जालाई विभिन्न शर्त राखेर पुनःसंरचना र पुनःतालिकीकरण गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।