काठमाडौं । केन्द्रीय सदस्य रहेका दुर्गा प्रसाईंलाई नेकपा एमालेले निष्कासित गरेको छ। शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले प्रसाईंलाई निष्कासन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिएका हुन्।
उनले गत फागुन १ गते काँकडभित्तामा पूर्वराजा ज्ञानेन्द्र शाह र पारस शाहलाई राखेर कार्यक्रम गरेका थिए। उक्त अभियानको उद्घाटन ज्ञानेन्द्र शाहले गरेका थिए। पछिल्लो समय उनी नागरिक बचाउ महाअभियानमा लागेका थिए। उनले मुलुक २०४६ सालअघि फर्काउनुपर्ने भन्दै भाषण समेत गरेका थिए।
गणतन्त्रका लागि सशस्त्र युद्धमा होमिएका प्रसाईंले आफूलाई राजाको सक्रिय शासनको पक्षमा खुला रूपमा उभ्याएका हुन्। यस्तै पार्टीले कारबाही गर्न लागेको थाहापाएसँगै सार्वजनिक रूपमै एमाले छाडिसकेको घोषणा गर्दै आएका थिए। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको पनि सार्वजनिक रूपमा टिप्पणी गरेका थिए।
२०४६ सालअघिसम्म मुलुक पञ्चायती शासनको अधिनमा थियो। राजाको सक्रिय शासनकालमा दलीय प्रतिस्पर्धादेखि न्यूनतम लोकतान्त्रिक हकसमेत कुण्ठित थिए।