काठमाडौं,राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौंको ठमेलस्थित जेपी स्कूलको लिज प्रकरणमा छानबिन सुरु गरेको छ । उक्त स्कुलको भवन लिज प्रकरणमा अनियमितता भएको भन्दै उजुरी परेपछि केन्द्रले बिहीबार विद्यालयका प्रधानाध्यापक लक्ष्मण पौडेलसँग तीन घण्टा बयान लिएको छ ।
ऐतिहासिक महत्व बोकेको जेपी स्कूलको जमिन २०६५ सालमा तरुण निर्माण सेवालाई साढे तीन वर्ष निर्माण अवधि तोकेर ३० वर्षका लागि लिजमा दिइएको थियो र त्यसलाई २०६८ र २०७२ सालमा पूरक सम्झौता गर्दै समय थप्दै गएको थियो । साढे तीन वर्षमा सकिनुपर्ने निर्माण कार्य १४ वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन ।
लिजमा सम्झौता गरेको तरुण निर्माण सेवाको मनोज मिश्राले लिज ट्रान्सफर गरेर छिमी भन्ने व्यक्तिलाई जिम्मा लगाएर आफू पछि हटेका छन् । उक्त लिजकाण्डमा तत्कालीन बिभोर विकास बैंकका सीइओ अजयराज घिमिरेसहित विश्वभक्त श्रेष्ठ, प्रेम प्रसाद शर्मा, विक्रम राज भट्टराई, लक्ष्मण पौडेल, मनोज कुमार मिश्रा, सम्राट शमशेर जबरा, चन्द्र बहादुर कार्की, प्रविण न्यौपाने, रवीन श्रेष्ठ, अरुण सिंह बस्नेत, लक्ष्मण बराल, परशुराम झा, रामकृष्ण भण्डारी, सूर्य राज शाक्य, कुमार देव मानन्धर, अमृत पूरी, सीता ढकाल, समिना झा तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ का हालका अध्यक्ष मुकुन्द रिजाल मुछिएका छन् । तीमध्ये प्रमुख मानिएका प्रधानाध्यापक पौडेलसँगमात्र केन्द्रले बयान लिएको हो ।
विद्यालयको जमिन ठेकेदार मिश्रालाई लिजमा दिँदा उनीहरुले विद्यालयलाई हानि नोक्सानी हुने गरेर व्यापारीलाई फाइदा पुग्ने गरी दिएको तथा लिजमा लिएको कम्पनीले लिजमा एग्रिमेन्टअनुसार निर्माणकार्य नगर्दा पनि विद्यालयका प्रधानाध्यापक पौडेल बदनियतपूर्वक मौन रहेपछि परेको उजुरीमाथि छानबिन भइरहेको छ ।