काठमाडौं । गोरखाको गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएर भ्रष्टाचार गरेको आरोपमा गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।
गोरखा नगरपालिकाको जरेवरस्थित दरौदी नदी माथि तत्काल बाटो नभएको स्थानमा पुल बनाएको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा भौतिक पूर्वधार मन्त्रालयका सचिव मरहट्टाले परामर्शदातासँग सम्झौतामा हुँदै नभएको कार्यक्रम विद्यमान कानून विपरीत थप गरेको, पुलको स्थान, नाम र डिजाइन परिवर्तन स्वीकृत गरेको पाइएको अख्तियारले जनाएको छ । उनले राज्यको सम्पत्ति औचित्य नभएको स्थानमा खर्च गर्न आफ्नो ओहदाको दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।
उक्त भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा उनलाई रु. ५ करोड ४५ लाख ५२ हजार छ सय ७१ रूपैया ५४ बिगो कायम गरी कैद र जरिवाना हुन एवं सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी भएको बिगो निजबाट असुल उपर हुनसमेत मागदाबी लिइएको छ ।
साथै अख्तियारले प्रदेश सडक निर्देशनालयका निमित्त निर्देशक रामकुमार श्रेष्ठमाथि बदनियतपूर्वक गुरु योजना, ग्रामीण सडक, शहरी सडक वा कुनै रणनीतिक सडकमा समेत नपर्ने काल्पनिक सडकको नाम दिई जरेवरस्थित दरौदी खोला पुलको डिजाइन गराई सोवापत भुक्तानी नाम दिई खोलामा पुल बनाइएको भन्दै उनीमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले श्रेष्ठमाथि ५ लाख ७१ हजार ७८० रुपैयाँ विगो मागदाबी गरेको छ ।
अख्तियारले पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानामाथि बदनियतपूर्वक गुरु योजना बनाएको आरोप लगाएको छ । वनक्षेत्रमा काल्पनिक पुल निर्माणको नाममा वनको अनुमति वेगर सार्वजनिक वनक्षेत्रको जथाभावी प्रयोग गरी गैरकानूनी रुपमा सहभागी भई सरकारी सम्पत्ति वनको नोक्सान गरी सार्बजनिक सम्पत्ति बदनियतपूर्वक हानिनोक्सानी गरेको आरोपमा सजायको मागदाबी गरिएको छ । उनीहरु तीनैजना विरुद्ध विशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।