काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले स्वदेशी निर्माण कम्पनीहरूले काम पाउने गरी राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्न नेपाली सेनालाई आग्रह गरेको छ । महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानसेनापति प्रभुराम शर्मालाई भेटी सेनाले अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गर्नेगरेको भन्दै राष्ट्रिय स्तरको बोलपत्र आह्वान गर्न आग्रह गरेको हो ।
स्वदेशी निर्माण कम्पनीले काम पाउँदा उनीहरूले आयोजनाप्रति अपनत्व महसुस गर्ने, नेपाली मुद्रा विदेश जानबाट रोकिने र आयोजनाहरू समयमा सम्पन्न हुनेप्रति महासंघ प्रतिनिधिमण्डलले प्रधानसेनापति शर्माको ध्यानाकर्षण गराएका थिए । प्रधानसेनापति शर्माले महासंघको अवधारणालाई सकारात्मक रूपमा लिँदै नेपाली निर्माण कम्पनीहरू पनि आफूले सक्षम पाएको बताएका थिए ।
महासंघको अवधारणा कार्यान्वयनका लागि आफ्नो तर्फबाट सकारात्मक पहल हुने उनले बताए । महासंघ प्रतिनिधिमण्डलमा महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी), महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेम सिंह ऐर सहभागी थिए ।