काठमाडौं । लमजुङको दोर्दी गाउँपालिका-८ खिन्चोकवेसी बस्ने ९३ वर्षीया हाङ्गी विकको आगोले जलेर सोमबार राति मृत्यु भएको छ । आफ्नै घरमा खाना खाई सुतिरहेको अवस्थामा चुलोबाट आगो सल्किएर आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट उनको गोठमा समेत सामान्य क्षति पुगरेको छ ।
यसैगरी, काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ गान्धिमोड डेरा गरी बस्ने दोलखा गौरीशंखर गाउँपालिका-६ घर भएका ३४ वर्षीया माया गुरुङको कोठामा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा कोठामा रहेको नगद तथा जिन्सी सामानसमेत गरी करिब ७ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको छ साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।