काठमाडौं,सेयरबजार परिसूचक निरन्तर ओरालो लाग्दा यसको असर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरणमा परेको छ । सोअनुसार एक वर्षमा नेप्सेमा सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण नौ खर्ब ३३ अर्ब ९७ करोड रुपैयाँले घटेको छ ।
नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट प्राप्त तथ्यांकलाई आधार मानेर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांकअनुसार चालू आर्थिक वर्षको पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण ३१ खर्ब तीन अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा भने सूचीकृत कम्पनीहरुको यस्तो बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो । सूचीकृत कम्पनीहरुको कुल बजार पुँजीकरण घटेसँगै नेप्से सूचकांक पनि पछिल्लो अवधिमा घटेको छ । सो अनुसार २०७८ पुस मसान्तमा २८ सय ५७ दशमलव आठ अंंकमा रहेको नेप्से सूचकांक २०७९ पुस मसान्तमा २१ सय ४९ दशमलव चार अंकमा झरेको छ ।
राष्ट्र बैंकका अनुसार २०७९ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ४९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये एक सय ४९ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, छवटा लगानी कम्पनी, पाँचवटा होटल, चारवटा व्यापारिक संस्था र तीनवटा अन्य समूहका रहेका छन् । २०७८ पुसमा भने नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या दुुई सय २५ वटा रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६ दशमलव दुई प्रतिशत छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२ दशमलव तीन प्रतिशत, लगानी कम्पनीको हिस्सा छ दशमलव सात प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा चार दशमलव दुई प्रतिशत, होटलको हिस्सा एक दशमलव आठ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा शून्य दशमलव पाँच प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा आठ दशमलव तीन प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा २०७९ पुस मसान्तमा सूचीकृत सात अर्ब १० करोड सेयरको चुक्ता मूल्य सात खर्ब दुई करोड रुपैयाँ रहेको छ । चालू आर्थिक वर्ष २०७९÷०८० को छ महिनामा ३५ अर्बबराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोडबराबरको डिबेन्चर, ११ अर्ब ८० करोड रुपैयाँबराबरको साधारण सेयर, १० अर्ब ८० करोडबराबरको बोनस सेयर, चार अर्ब ४९ करोडबराबरको म्युचुअल फण्ड र तीन अर्ब ६७ करोडबराबरको हकप्रद सेयर गरी कुल ९४ अर्ब २१ करोडबराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
यसैगरी चालू आवको पछिल्लो छ महिनाको अवधिमा नेपाल धितोपत्र बोर्डले नौ अर्ब २० करोड रुपैयाँबराबरको डिबेन्चर, सात अर्ब ७५ करोड रुपैयाँबराबरको म्युचुअल फण्ड, चार अर्ब नौ करोड रुपैयाँबराबरको साधारण सेयर र ९५ करोड रुपैयाँबराबरको हकप्रद सेयर गरी कुल २१ अर्ब ९९ करोडबराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।