सोलुखुम्बु । ओखढुंगाको चिसंखुगढीमा भिरमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । खानीभञ्ज्याङबाट ओखलढुङ्गा सदरमुकाम जाँदै गरेको गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जीप दियालेमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा चिशंखुगढी–३ का ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापा रहेका छन् । बोलेरो जीपमा चालकसहित १४ जना सवार थिए । जीप सडकभन्दा करिब दुई सय मिटर तल खसेको थियो ।
यस्तै दुर्घटनामा परी गम्भीर घाइते भएका १० जनाको हेलिकोप्टरमार्फत उद्वार गरिएको छ । घाइतेहरूको नेपाली सेना र कैलाश एयरको हेलिकोप्टरबाट उद्वार गरी उपचारका लागि काठमाडौं पठाइएको हो । गम्भीर घाइते हुनेहरू चिशंखुगढी गाउँपालिका–३ का चालक २५ वर्षीय सुमन कार्की, २६ वर्षे शर्मिला श्रेष्ठ, वडा नं. १ का २२ वर्षे खेमबहादुर खत्री र वडा नं.२ का ४० वर्षे केन्द्रबहादुर कार्की रहेका छन् । उनीहरूलाई उपचारका लागि कैलाश एयर हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
यस्तै चिशंखुगढी गाउँपालिका–२ की १३ वर्षे आयुशा श्रेष्ठ, सोही वडाका ५७ वर्षे तिलकुमारी श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० बेतेनीकी ४० वर्षे तुलसा धमला र उनका दुई वर्षीय छोरा विनय धमला, चिशंखुगढी–३ की चार वर्षीय लरिसा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं पठाइएको छ । उद्धार गरिएका सबै घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ । घाइतेहरूको टाउको र अनुहारमा गहिरो चोट लागेको छ ।
दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको भने ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको मोलुङ गाउँपालिका–१ की ३५ वर्षीय जानुका धमला र उनका चार वर्षीय छोरा कोसिस धमलाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको हो । दुर्घटनाको कारणलगायतको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।